सोनाली फोगाटको परिवारको दाबी : बलात्कारपछि भयो हत्या

बीजेपी नेता तथा टिकटक स्टार सोनाली फोगाटको मृत्युलाई लिएर तीव्र गतिमा परिवर्तन भइरहेको घटनाक्रम र उनको परिवारले गरेको गम्भीर दावीका कारण आज भारतका थुप्रै पत्रपत्रिकाले यो समाचारलाई प्रमुखता दिएका छन् । अङ्ग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सले सोनालीको पोस्टमार्टम रिपोर्टमा उनको शरीरमा चोटका निशानहरू पुष्टि भएको लेखेको छ । यसबाहेक बिहीबार सोनालीका परिवारका सदस्यले पनि सोनाली फोगाटको हत्या भएको र यसअघि उनीमाथि बलात्कार भएको आरोप लगाएका छन् ।

सोनाली फोगाटका भाइ रिंकुले लगाएको आरोपलाई पत्रिकाले उल्लेख गरेको छ । सोनालीका भाइले बीजेपी नेताले २४ अगस्टमा गोवामा गोली हानेको दाबी गरेका छन् । तर होटलका कोठाहरू अगस्ट २१ र २२ गतेका लागि बुकिङ गराइए । सोनाली फोगाटको उत्तरी गोवाको अन्जुनामा २२ अगस्टमा मृत्यु भएको थियो ।

सोनालीको शव दिल्ली पुगेको छ, त्यसपछि हरियाणाको हिसारमा उनको अन्त्येष्टि गरिने छ जहाँ उनको घर छ । यसअघि सोनाली फोगाटको मृत्युको कारण हृदयघात भएको भनिएको थियो तर अब गोवा प्रहरीले यस मामिलामा भारतीय दण्ड संहिताको धारा ३०२ (हत्या) पनि थपेको छ ।

सोनाली फोगाटका दुई निजी सहयोगी पनि पक्राउ परेका छन् । पक्राउ परेका उनका सहयोगीको नाम सुधीर सगवान र सुखविन्दर वासी रहेका छन् । २२ अगस्टमा यी दुवै सोनाली फोगाटसँगै गोवामा थिए ।

अंग्रेजी पत्रिका इन्डियन एक्सप्रेसका अनुसार सोनाली फोगटका भाइ, भतिजो मोनिन्दर फोगाट र भिनाजु अमन पुनियाले अन्जुना प्रहरी चौकीमा उजुरी लेखेका थिए, जसमा सगवान र सुखविन्दरलाई सोनालीको हत्या गरेको आरोप लगाइएको थियो ।

सोनालीका भाइले हस्ताक्षर गरेको चार पृष्ठको उजुरीमा सुखविन्दर र सगवानले आफ्नी बहिनीको सम्पत्ति हडप्ने नियतले भाजपा नेताको हत्या गरेको उल्लेख छ ।

‘कुक हटाइयो, पूर्वनियोजित षडयन्त्र’

अन्जुना प्रहरीलाई दिएको उजुरीमा यो पनि दावी गरिएको छ कि करिब तीन महिना अघि फोगाटले आफ्ना परिवारका सदस्यहरूलाई खाना खाएपछि आफ्नो खुट्टामा समस्या हुने गरेको र कहिलेकाँही त हिँड्नसमेत नसक्ने जानकारी दिएकी थिइन् ।

सोनालीका भाइ रिंकु ढाकाले आरोप लगाउँदै भने, ‘उनको (सोनाली फोगटको) पीएले भान्सेलाई बर्खास्त गरी जिम्मेवारी आफैं लिन्छु भने । सोनालीले आफ्नो चण्डीगढ भ्रमण बारे परिवारलाई भनेकी त थिइन् तर त्यतिबेला गोवा उनको योजनामा समावेश थिएन ।’

रिंकु ढाकाले लगाएको आरोप अनुसार गत वर्ष हिसारस्थित आफ्नो घरबाट ४० लाख रुपैयाँ चोरी हुनुमा साङ्वानको हात रहेको सोनालीले थाहा पाएकी थिइन् । त्यसैले उनले घर फर्कने बित्तिकै प्रहरीमा यसबारे उजुरी दिने सोच बनाएकी थिइन् ।

ढाकाले भने, ‘यो हत्यामा सम्पत्तिको कोण पनि छ । हामीले साङ्वानसँग हिसारको घरको चाबी माग्दा उनले आफू कारमा रहेको र फर्किएपछि चाबी दिने बताए । सोनालीको गुरुग्रामा पनि घर थियो र जब हामीले त्यसको चाबी माग्यौँ तब साङ्वानले त्यो घरमा आफ्नो बताए ।’ यस्तै, हिन्दी पत्रिका दैनिक भास्करको रिपोर्ट अनुसार सोनाली फोगाटको शवको पोस्टमार्टम चार घण्टा चलेको र डाक्टरले उनको शरीरमा थुप्रै नदेखिने चोट भएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *