बहुमतका लागि एमालेलाई १६ प्रतिशत मत पुग्दैन

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा पार्टीलाई बहुमत ल्याउन करिब १६ प्रतिशत मत अपुग हुने बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले बहुमतका लागि १६ प्रतिशत मत बढाउनुपर्ने बताएका हुन् ।

अध्यक्ष ओलीले एमाले सरकारले गरेका कामको सशक्त प्रचार गरेर मतवृद्धि गर्न सकिने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘आफ्नो शक्ति र सामर्थ्यमाथिको आत्मविश्वास बढाउने, गठबन्धनको मनोवैज्ञानिक भयबाट मुक्त हुने ।’ मतवृद्धिका लागि नयाँ पुस्तामा विशेष ध्यान दिनुपर्ने पनि ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

त्यस्तै अध्यक्ष ओलीले पार्टी प्रवेशको लहरसहित राष्ट्रव्यापी चुनावी अभियानले पनि स्थानीय तह निर्वाचनमा काम गरेको बताएका छन् । स्थानीय तहको नतिजा विश्लेषण गर्दै प्रतिनिधिसभा र प्रदेशसभा चुनावको रणनीति बनाउनुपर्ने उनको भनाइ छ ।

राजनीतिक ध्रुवीकरणको प्रक्रियालाई तीव्रता दिँदै अन्य पार्टीबाट सक्दो प्रवेश गराउने पनि ओलीको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘राजनीतिक ध्रुवीकरणको प्रक्रियालाई तीव्रता दिँदै अन्य पार्टीबाट सक्दो प्रवेश गराउने नीति लिने ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *