बा धैर्य राख है! – गीता शाही

Advertisement

कविता

म बुझ्ने भएदेखि नै सबैले बालाई लोभी भन्थे
तर मेरा बा लोभी थिएनन्
न त बा सँग मनग्ये धन सम्पत्ति थियो
मेरा बा ती थिएनन्
जसको दिनचर्या मस्तीमा बितोस्
मेरा बा त झिसमिसेमा कोदालो बोकी
एक घान मकै र भटमास सँग दुई गिलास मोहीले भोक प्यास मेटाउने
दिनभर को थकानलाई ढिडो र सातुसँग मिसाइ
आनन्दको निन्द्रामा हराउने मान्छे।।

मलाई बाको काँधमा चढेको याद छैन
बाको हात समाउँदै पसलसम्म पुगेको याद छैन
चकलेट किनेर खानु है भन्दै हातमा पैसा राख्देको पनि याद छैन
र बाले त्यस्तो गरेनन् पनि रे
तर
मलाई याद छ बा
लाल्टिन र टुक्कीको सहाराले काठको कलम अनि काठकै कालोपाटीमा खरानी राखेर मेरो हात समाउँदै कखरा लेख्न सिकाएको
मलाई याद छ मैले क को पछाडि खुट्टा झार्न नजान्दा
हात समाउँदै त्यो क लेख्न सिकाएको
मलाई याद छ बा
भारतका (देशका) गल्ली अनि कुना कुनामा पसिना बगाएर
हाम्रा लागि सुख बोकेर आएको।।

थाहा छ बा
हजुर च्यातिएको सुरूवालमाथि टालो हालेको दौरा सुरूवाल लाएर स्कुल आउँदा
म कक्षा कोठाबाट बाहिर ननिस्केको
अनि घर पुग्दै यस्तो कपडा लाएर स्कुल किन आउनु भको भन्दै गाली गरेको
तर बा हजुरले हाँस्दै कति शान्त हुँदै दिएको जवाफ
अझै मेरो मन मस्तिष्कमा छ
‘राम्रा टाला लाइकन मात्र मान्छे ठूला हुँदाछन् र ?’
म नाजवाफ भएकी थिएँ
र अझै पनि छु।
साधारण जीवनशैली
अनि दु:खै दु:खको घर भित्र पनि
ती सबै दु:ख पीरहरूलाई पैंताला मुनि दबाएर
आँखामा नौरङी सपना हाम्रा लागि सजाउँदै
भत्किएको झुपडी अनि चुहिने छानोमाथि परिश्रमको
ओत लगाउँदै ,
हामीलाई मान्छे बन्न लायक बनाउने हजुर
समाजले यो लोभ, आफू नखाइ-नलाइ छोराछोरी पढाएर के गर्छस् भन्दै गिज्याउँदा ,
बा हाँसेर जवाफ दिन्थे
मेरा भविष्य अनि खुसी यिनीहरू हुन् भन्दै
ऊ बेला छोरी पढाएर के गर्छस् अर्काको घर जाने जात भन्दै सुनाउने हरू
पछुताउँदै भन्छन् रे मैले नि फलानोको जस्तै छोरी पढाको भए
आफ्नो खुट्टामा उभिन सक्थी होला
अन्याय विरूद्ध लड्थी होला
तर पनि

मलाई थाहा छ बा

अझै तिम्रा निधारका पसिना सुक्न पाको छैनन्
निधारमा नाम्लोको दाग मेटिन पाको छैन
हातमा बसेका गहिरा ठेला सुकेका छैनन्
उही लेख, उही काम अनि उही मेहनत छुटेको छैन
अरूले संघर्षका कथा सुनाउँदै गर्दा
मैले संघर्ष गर्दै गरेका तिम्रा ती दिनहरू देखेकी छु
तिम्रो बलिदान अनि त्याग देखेकी छु

बा धैर्य राख है
तिमी हाँसेमात्र पनि म संसार जित्नेछु
तिमी मात्र मुस्कुराइदेऊ
म तिमी ले देखाएको बाटो हिँड्दैछु
एक दिन पुग्नेछु तिम्ले औंल्याएको त्यो शिखरमा
बस तिमी सपना देख्न अनि देखाउन नछोड है
आँट अनि भरोसा दिन नछोड है।।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *