ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्दै चुनावमा जाने एमालेको निर्णय

काठमाडौं । नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जाने भएको छ । ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि बसेको एमाले केन्द्रीय कमिटी बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको हो ।

‘समूह छलफलबाट आएको सुझावअनुसार बैठकबाट यो घोषणा गरिएको हो’ शनिबारको बैठकपछि एमाले नेता किरण गुरुङले भने । पार्टी कार्यालय, च्यासलमा दुई दिनसम्म चलेको बैठकले उम्मेदवार छनोटको मापदण्ड तय गरेको छ ।

ओली पहिलो पटक २४ असोज २०७२ मा प्रधानमन्त्री भएका थिए । आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन नगरेको भन्दै सत्ता साझेदार माओवादीले समर्थन फिर्ता लिएपछि उनी ९ महिनामा पदमुक्त भए ।

दोस्रो पटक ३ फागुन २०७४ मा पनि माओवादी केन्द्रकै समर्थनमा प्रधानमन्त्री भए । २०७४ को चुनावमा माओवादी केन्द्रसँग वाम गठबन्धन गरेको एमालेले भावी प्रधानमन्त्रीका रुपमा कसैलाई अघि सारेको थिएन । तर गठबन्धनले बहुमत पाएपछि ओली प्रधानमन्त्री बने । एमाले र माओवादीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि ओलीलाई थप सहज भयो । तर दुई पटक संसद विघटन गरेपछि ओली २८ असार २०७८ को सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *