नोरा फतेहीसँग ६ घण्टा सोधपुछ, महँगो उपहारबारे सोधिए यस्ता प्रश्न

दिल्ली प्रहरीको आर्थिक अपराध शाखाले शुक्रबार बलिउड अभिनेत्री नोरा फतेहीलाई सुकेश चन्द्रशेखर मनी लन्ड्रिङ प्रकरणमा सोधपुछ गरेको छ । अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई पनि सोही मुद्दामा सोधपुछ भइरहेको छ र अब १२ सेप्टेम्बरमा फेरि सोधपुछ गरिने छ ।

सुकेश चन्द्रशेखर २०० करोड भारुको ठगी मुद्दामा अभियुक्त हुन् । उनीमाथि सम्पत्ति शुद्धीकरणको आरोप छ । उनले नोरा फतेही र ज्याकलिन फर्नान्डिजलाई महँगो उपहार दिएको पनि आरोप छ ।

नोरा फतेहीलाई सोधपुछका क्रममा सुकेश चन्द्रशेखर र उनको उपहारबारे करिब ५० प्रश्न सोधिएका थिए । शुक्रबार राति आठ बजेसम्म उनीसँग सोधपुछ गरिएको थियो ।

समाचार एजेन्सी एएनआईका अनुसार उनलाई के उपहार पाइन्, उनी कोसँग कुरा गर्थिन्, उनले सुकेश र उनकी श्रीमतीलाई कहाँ भेटिन्लगायतका प्रश्न सोधिएको थियो ।

थप केही प्रश्नको जवाफमा नोराले ज्याकलिन फर्नान्डिजसँग आफ्नो कुनै सम्बन्ध नभएको र सुकेश चन्द्रशेखरसँग दुवै अभिनेत्रीको फरक–फरक कुराकानी हुने गरेको बताइन् ।

आर्थिक अपराध महाशाखाका विशेष सीपी रवीन्द्र यादवले भने, ‘हामीले हिजो नोरा फतेहीलाई बोलाएका थियौँ । सुकेशले जेलबाछै चलाइरहेका आपराधिक सिन्डिकेटसँग सम्बन्धित मानिसहरुको विषयमा प्रश्न सोधियो ताकि मुद्दालाई बलियो बनाउन सकियोस् । उनीसँग लगभग ६ घण्टासम्म सोधपुछ भयो ।’

उनले थपिन्, ‘उनले सहयोग त गरिन् तर केही प्रश्नको जवाफ पाइएन । हामीले उनलाई भविष्यमा पनि बोलाउन सक्छौँ । मुख्य षड्यन्त्रमा संलग्न व्यक्ति र सम्पर्क पत्ता लगाउन अनुसन्धान भइरहेको छ । उपहार लिने व्यक्ति पनि यो षड्यन्त्रमा सामेल थिए वा उनीहरुलाई यसबारे जानकारी थियो भन्नेबारे अनुसन्धान भइरहेको छ ।’

रविन्द्र यादवले एएनआईलाई भने, ‘नोरा फतेहीले आफूलाई चेन्नईमा बोलाइएको कार्यक्रम यही अपराध सिन्डिकेटसँग सम्बन्धित छ भन्ने थाहा नभएको बताइन् । तर उनले पाएको गाडी र उपहार कहाँ प्रयोग भयो भन्नेबारे सबै अनुसन्धान गर्नुपर्छ । विस्तृत अनुसन्धानपछि मात्रै कुनै निष्कर्षमा पुग्न सक्नेछौँ ।’

‘उनको (सुकेश) को आसपास मानिसहरु काम गर्दथे भन्ने पत्ता लागेको छ । उनीहरुले पहिला अभिनेत्रीसँग सम्पर्क गर्दथे र ती मानिसहरुमार्फत् नै अभिनेत्रीसँग नजिकिन कोसिस गर्दथे । उनले अभिनेत्रीहरुलाई महँगो उपहार दिएर लोभ्याउँथे । केहीलाई सुकेशको उद्देश्यबारे अनुमान भएतापनि लोभका कारण उनीहरु नरोकिएको पनि थाहा भएको छ ।’

एएनआईले एक प्रहरी अधिकारीलाई उद्धृत गर्दै नोरा फतेहीको परिचय चन्द्रशेखरकी पत्नी लीना मारिया पलमार्फत् भएको जानकारी दिएको छ । लीनालाई पछि सोही मुद्दामा पक्राउ गरिएको थियो ।

अफिसरले भने, ‘लीनाले नोरालाई म्यानेजरमार्फत भेटिन् र पछि यी दुई नजिकिए । चन्द्रशेखरले नोरालाई बीएमडब्ल्यू कार, महँगो फोन र अन्य उपहार पनि दिइन् । नोराले चन्द्रशेखर जेलमा रहेको र कुनै अपराधअन्तर्गत उपहार दिइएको भन्ने बारे कुनै जानकारी नभएको बताएकी छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *