प्रचण्डका एमाले प्रतिस्पर्धी भन्छन् : उहाँले हार्दा मात्रै देशले स्थिरता पाउँछ

चितवन । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिस्पर्धा गर्न नेकपा एमालेले चितवन-३ मा पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई अघि सारेको छ । उनी सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । तत्कालीन नेकपा हुँदा भरतपुर महानगरपालिकाको अध्यक्ष रहेका न्यौपाने २०७८ माघमा एमाले चितवनको अध्यक्ष बनेका थिए । माडी नगरपालिकाका बासिन्दा रहेका न्यौपाने विद्यार्थी राजनीतिबाट आएका हुन् ।

सत्ता गठबन्धनका पाँच दलका तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन निर्वाचन क्षेत्र-३ बाट उठ्ने तयारी गरिरहँदा न्यौपानेसँग सोधिएका ५ प्रश्न :

तपाईं माओवादीका अध्यक्ष प्रचण्डसँग चुनाव लड्ने तयारीमा हुनुहुन्छ, चर्चाका लागि हो कि जितको आधार पनि देख्नु भा’छ ?

म एमाले चितवनको अध्यक्ष हुँ । म त्यो क्षेत्रको भूगोल बुझेको मान्छे पनि हुँ, यहींबाट राजनीति गरेको छु । पार्टीको क्षेत्रीय कमिटीले मलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।

प्रचण्डसँग चुनाव लड्नु मेरो लागि कुनै ठूलो कुरा हैन । यो भूगोलमा एमाले सबैभन्दा ठूलो दल हो । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत सबभन्दा बढी एमालेको छ । हाम्रो सांगठनिक जनाधार छ । २०७४ सालमा प्रचण्डलाई हामीले चुनाव जिताइदिएको हो । उनको आफ्नो तागतमा चुनाव जित्ने आधार यहाँ छैन ।

राष्ट्रिय राजनीतिको केन्द्रीय पात्र प्रचण्डसँग चुनाव लडेर जित्छु भन्ने लाग्छ ?

मलाई के जानकारी छ भने उहाँले चुनावमा सबै हत्कण्डा अपनाउनुहुन्छ । हामी त्यसको जनस्तरबाट नै प्रतिरोध गर्छौं । हामीले महानगरको चुनावमा देख्यौं, उहाँले छोरी जिताउन के-के सम्म गर्नुभएन । पैसाले जनताको मत र चेतना किन्ने सपना देख्नुहुन्छ, तर अब त्यो सम्भव छैन ।

चितवन-३ को विकासमा प्रचण्डले योगदान गरेको छु भन्नु भा’छ ? त्यो सत्य हैन ?

तपाईंलाई एउटा जानकारी गराऔं माडीको बाँदरमुँढे बम काण्ड मच्चाएर ३९ जनाको सामूहिक चिहान बनाउने काम उहाँको पार्टीले गर्‍यो । म त्यो घटनाको पहिलो उद्धारकर्ता हुँ । उहाँ हिंसाको पुजारी हो, म जनता बचाउने उद्धारकर्मी हुँ ।

जहाँसम्म विकासको कुरा छ, उहाँले अघिल्लो चुनावमा माडी जान आकाशे पुल हाल्छु भन्नुभएको थियो । खै हाल्नुभयो ? के गर्नुभा’छ ? उहाँले माडीको विकास लागि कुनै एउटा काम देखाउनुस् । दुई पटक प्रधानमन्त्री हुँदा माडीका लागि खै के काम भयो ?

केपी ओली नेतृत्वको सरकार हुँदा माडीमा ११ वटा पुल र दुई लेनको सडक पिच भा’छ । माडीमा राममन्दिर बनाउने भनेर काम अगाडि बढाउँदा विरोध गर्ने उहाँ होइन ? पश्चिम चितवनको गोलाघाटमा पुल हाल्छु भन्नुभाथ्यो, हाल्नुभयो ? मेघौली विमानस्थल कालोपत्रे गर्छु भन्नुभा’थ्यो गर्नुभयो ? अहिले तमासा देखाएर हिंड्नु भा’छ । जनताले उहाँको यो तमासा ५ वर्षसम्म हेरिसकेका छन् ।

चितवन-३ मा राप्रपासँग तालमेल गर्ने चर्चा पनि छ, विक्रम पाण्डेलाई यहाँहरुले समर्थन गर्ने हो ?

यो पटक यहाँका जनता सूर्यमा मतदान गर्न चाहन्छन् । राप्रपासँग एकता गर्ने कुरा त्यति भरपर्दो छैन । राप्रपालाई हामीले भन्दा पनि हामीलाई राप्रपाले सहयोग गर्नुपर्छ प्रचण्डलाई हराउनका लागि ।

कांग्रेससँगको गठबन्धनमा रहेका प्रचण्डलाई हराउने सपना देख्नुहुन्छ ?

कांग्रेसले यसपटक प्रचण्डलाई बोक्छ जस्तो लाग्दैन । कांग्रेसलाई त चितवनमा माओवादीले प्रयोग मात्रै गरेको छ । कांग्रेसलाई काखमा राखेर माओवादीले कमजोर बनाएको कुरा उहाँहरुले भुल्न हुँदैन । सकभर कांग्रेसको आफ्नै उम्मेदवार होस्, नभए पनि प्रचण्डलाई हराउन मलाई समर्थन गर्नुपर्छ भन्ने लाग्छ ।

प्रचण्ड यो देशका अस्थिरताका नायक हुन् । यो देशको राजनीतिक स्थायित्व र विकासका लागि प्रचण्डलाई हराउनुपर्छ । त्यसको नेतृत्व मैले गर्दैछु । प्रचण्डले हार्दा मात्रै देशमा स्थिरता आउँछ । आज कांग्रेसलाई प्रयोग गरेर चुनाव जित्ने र पछि कांग्रेसलाई धोका दिने काम उहाँबाट हुन्छ । यसमा कांग्रेसजन ढुक्क हुनुभए हुन्छ । अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *