‘द कपिल शर्मा शो’ फेरि सुरू हुँदै, फिल्म असफल हुनुमा अक्षयले लगाए कपिललाई दोष

भारतीय कमेडियन कपिल शर्मा चर्चित कार्यक्रम ‘द कपिल शर्मा शो’ को तेस्रो सिजन लिएर आउँदैछन्। सेप्टेम्बर १० देखि कपिल शोको नयाँ सिजन सोनी टेलिभिजनबाट प्रदर्शन हुनेछ। कार्यक्रमको नयाँ प्रोमो भिडिओ सार्वजनिक भइसकेको छ। प्रोमोमा अभिनेता अक्षय कुमार र अभिनेत्री रकुलप्रित सिंहलाई देख्न सकिन्छ।

उक्त भिडिओमा अक्षयले कपिललाई दोष पनि लगाएका छन्। उनले आफ्नो फिल्म असफल हुनुमा कपिलको दोष भएको भनेका छन्। कपिलले स्टेजमा बोलाएर अक्षयलाई सोध्छन्, ‘हरेक जन्मदिनमा तपाईं एक वर्ष जवान कसरी देखिनुहुन्छ?’

जवाफमा अक्षय भन्छन्, ‘यो मान्छे मेरा हरेक कुरामा यति धेरै नराम्रो नजर लाउँछ कि, मेरा फिल्महरूमा, मेरो पैसामा नजर लगाइदियो। अब मेरा फिल्म चल्नै छाडे।’ अक्षयले मजाक गरेको सुनेर सबै जना हाँस्न थाल्छन्। अक्षय कुमार र रकुलप्रित सिंहको नयाँ फिल्म ‘कठपुतली’ हालै रिलिज भएको हो। कठपुतली अक्षयको यो वर्षको चौथो असफल फिल्म हो। सेप्टेम्बर २ मा डिज्नी प्लस हटस्टारमा रिलिज भएको यो फिल्मले राम्रो प्रतिक्रिया पाउन सकेन।

यसअघि ‘रक्षा बन्धन’ ले पनि जम्मा करिब ४४ करोड भारू मात्र कमाउन सक्यो। त्योभन्दा अघिको ‘पृथ्वीराज चौहान’ ले पनि करिब ६८ करोड भारू मात्र कमायो। यो वर्षको उनको पहिलो फिल्म ‘बच्चन पाण्डे’ पनि असफल फिल्म मानिन्छ जसले जम्मा ५० करोड भारू हाराहारी कमाइ गर्‍यो।

बलिउडका ‘हिट-मेसिन’ मानिने अक्षयका लागि यो वर्ष बक्सअफिस दुखद रह्यो भन्दा हुन्छ। चारवटा फिल्म आउँदा चारैवटा असफल भएका छन्।

द कपिल शर्मा शोको कुरा गर्दा नयाँ सिजनका अरू प्रोमोहरू पनि सार्वजनिक भएका छन्। द इन्डियन एक्सप्रेसका अनुसार अरू प्रोमोमा ‘महारानी’ सिरिज अभिनेत्री हुमा कुरेशी र ब्याडमिन्टन खेलाडी पिभी सिन्धु देखिएका छन्।

यो कार्यक्रम केही समय बन्द हुनुमा कपिल शर्माको व्यस्ततालाई कारण मानिएको छ। इन्डियन एक्सप्रेसका अनुसार कपिल नन्दिता दासको फिल्म ‘ज्विगाटो’ को सुटिङ र उत्तरी अमेरिकामा लाइभ कार्यक्रमहरूमा व्यस्त थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *