नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइयो

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि संसद्‍मा फिर्ता भएको नागरिकता विधेयक जस्ताको तस्तै पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएको छ । राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको नगारिकता विधेयक सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको हो ।

प्रतिनिधिसभाको विधायन व्यवस्थापन समितिका एक अधिकारीका अनुसार नागरिकता विधेयक प्रमाणीकरणका लागि सोमबार राष्ट्रपति कार्यालय पठाइएको हो । ‘सभामुखबाट प्रमाणित भएपछि नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइएको छ । सोमबार साढे ५ बजे राष्ट्रपति कार्यालयमा विधेयक पठाइएको हो,’ ती अधिकारीले भने ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधना गर्न बनेको विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएपछि राष्ट्रपति भण्डारीले पुनर्विचार गर्नुपर्ने भन्दै संसद्मा फिर्ता गरेकी थिइन् । राष्ट्रपति भण्डारीले आफूलाई प्राप्त विधेयक १४ दिन अध्ययन गरेर साउन २९ गते संसद्‍मा नै फिर्ता गरेकी थिइन् ।

राष्ट्रपतिबाट फिर्ता आएको विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाले जस्ताको तस्तै पारित गरेर प्रमाणीकरणका लागि पठाएको हो । संघीय संसद्‍बाट दोस्रोपटक पारित भएर आएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *