बलात्कार मुद्दामा पल शाहलाई सफाई, बालयौन दुरुपयोगमा दोषी ठहर

नवलपुर जिल्ला अदालतमा चलिरहेको जबरजस्ती करणी मुद्दामा पल शाहले सफाई पाएका छन् । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाई दिएका हुन् ।

बलात्कारको मुद्दाबाट सफाई पाएपनि पूर्ण विक्रम शाह अर्थात् पल शाह बाल यौन दुरुपयोगमा भने दोषी ठहर भएका छन् । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय समेत हुने फैसलामा उल्लेख गरिएको छ । साथै पीडकबाट पीडितलाई १० लाख क्षतिपूर्ति भराउने र २५ हजार रुपैयाँ जरिवाना गराउने फैसलासमेत भएको छ । दफा २२५ अनुसार बालयौन दुरुपयोग गरेमा ३ वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

फैसलामा पीडित नाबालिकाको अभिभावक र सञ्चारमाध्यमलाई पनि सचेत गराइएको छ । उमेर नपुगेकी आफ्नी नाबालिग छोरी घरबाहिर हुँदा अभिभावक साथमा नरहेको पाइएको कारण अभिभावकीय जिम्मेवारी पूरा नगरेकामा सचेत समेत गराइएको छ । साथै सञ्चारमाध्यमले पीडितको पहिचान खुल्ने गरी समाचार प्रकाशन तथा प्रसारण गरेको कारण पीडितको वैयक्तिक गोपनीयतामा क्षति पुगेको कारण त्यसतर्फ सचेत भइदिन आग्रह गरिएको छ ।

नवलपुर जिल्ला अदालतबाट सफाई पाएपनि शाहको मुद्दा तनहुँ जिल्ला अदालतमा समेत विचाराधीन अवस्थामै रहेको छ । तनहुँ जिल्ला अदालतबाट समेत सफाई पाएको अवस्थामा र नवलपुर जिल्ला अदालतले तोकेको जेल सजाय काटेपछि भने उनी थुनामुक्त हुन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *