डेंगुको संक्रमण बढेसँगै बजारमा सिटामोल अभाव भएको हो ?

काठमाडौं । काठमाडौंलगायत मुख्य सहरी क्षेत्रमा अहिले डेंगुको संक्रमण तीव्र रुपमा बढ्दो छ । काठमाडौंका धेरैजसो अस्पताल डेंगुको बिरामीले भरिन थालेका छन् । डेंगु विरुद्धको खास उपचार र औषधि नभएकाले लक्षण अनुरुप औषधि दिइने गरिएको छ । खासगरी डेंगुको संक्रमणमा उच्च ज्वरो आउने भएकाले पारासिटामोल खान दिइन्छ ।

अहिले डेंगुको संक्रमण बढेसँगै बजारमा पारासिटामोलको माग उच्च छ । यद्यपि धेरैजसो ठाउँमा पारासिटामोलको अभाव हुन थालेको देखिन्छ । डेंगु र भाइरल ज्वरोको बिरामी बढेसँगै सिटामोलको माग अनुरुप बजारमा उपलब्ध नभएको एक औषधि वितरक स्वीकार्छन् । उनका अनुसार बजारमा सिटामोलको अत्यधिक माग छ । तर त्यसको अनुपातमा उत्पादन छैन । यद्यपि कतिपयले भने सिटामोलको कृत्रिम अभाव गराइएको गुनासो गरेका छन् । उनीहरुका अनुसार जतिबेला महामारी बढ्छ, त्यसबेला व्यवसायीले सिटामोलको अभाव गराउँछन् ।

सिटामोल अत्यावश्यक औषधिमा सूचीकृत छ । यसैगरी सरकारले स्वास्थ्य संस्थामा निःशुल्क वितरण गर्ने औषधिको सूचीमा दोस्रो नम्बरमा छ ।

केही वर्षअघि सरकारले सिटामोलको प्रति ट्याब्लेट एक रुपैयाँ भन्दा बढी लिन नपाउने भनेर तोकेको थियो । तर औषधि उत्पादक संघले एक रुपैयाँ एमआरपी भएको सिटामोल बनाउँदा घाटा हुने भन्दै उत्पादन नगरेकाले बजारमा अभाव भएको हुनसक्ने वितरकको दाबी छ । सिटामोलको मूल्य समायोजन हुनुपर्ने भन्दै पटक–पटक औषधि उत्पादक र व्यवसायीले माग गर्दै आएका छन् ।

प्रत्येक घरमा अनिवार्य जस्तै भइसकेको सिटामोलको मूल्य समायोजन गरेर उत्पादन क्षमता बढाउनुपर्ने औषधि व्यवसायीहरु बताउँछन् । ‘माग अनुसार सिटामोल उत्पादन हुन नसकेको हो,’ औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसी भन्छन्, ‘तर बजारमा अभाव भएको छैन ।’

औषधि उत्पादकको माग बमोजिम सिटामोलको मूल्य समायोजन गर्नेबारे सरकार सकारात्मक नै रहेको उनी बताउँछन् । यद्यपि अहिले महामारी बढिरहेको अवस्थामा नयाँ मूल्य निर्धारण गर्दा सर्वसाधारण मारमा पर्ने भएकाले कुनै कदम नचालिएको केसीको भनाइ छ ।

‘उपयुक्त समयमा वैज्ञानिक तथ्य, अन्तर्राष्ट्रिय कच्चा पर्दाथको मूल्य वृद्धि भएको अवस्थालाई पनि मध्यनजर गर्दै मूल्य समायोजन गर्ने योजना छ,’ उनी भन्छन् । विभागले औषधि उत्पादक संघलाई तत्कालका लागि सिटामोलको अभाव हुन नदिई वितरण र उत्पादनको सन्तुलन मिलाउन सूचित गरेको केसी बताउँछन् ।

‘औषधि अभाव हुन्छ भन्ने हल्ला आउनासाथ मान्छेले हत्तपत्त किनेर घरमा थुपार्ने प्रवृत्ति छ,’ उनले भने, ‘यसले पनि बजारमा अभाव भएजस्तो देखिन्छ ।’

औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले पनि औषधिको मूल्य समायोजनमा सरकारले कुनै चासो नदेखाएको कारण माग अनुसारको उत्पादन नभएको बताए । ‘सिटामोलको अभाव हुँदा मात्र उत्पादनको कुरा निस्किन्छ, बेलामा कसैले यसको चासो देखाउँदैन । २०६४ सालको मूल्य निर्धारणले अहिले चल्न सकिंदैन,’ उनी भन्छन्, ‘सरकारलाई पटकपटक मूल्य समायोजन गर्न आग्रह गर्दै आएका छौं । तर खासै चासो देखाएको छैन ।’

भारतबाट पनि सस्तो भएकै कारण आयात हुन छाडेको उनी बताउँछन् । ‘केही ठूला कम्पनी र पुरानो कम्पनी सामुदायिक उत्तरदायित्वको हिसाबले बनाइरहेको हुँदा माग अनुसारको उत्पादन नभएको हो,’ पाण्डे भन्छन्, ‘औषधि सस्तो र कच्चा पदार्थ महंगो हुँदा यसको उत्पादन धेरै कम्पनीले गर्न छाडेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *