राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले बुझाएको चार बुँदे पत्रमाथि सुनुवाइ नगर्ने भएका छन्। थापाले मंसिर २७ गते लिङ्देनलाई पत्र लेख्दै राप्रपा महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै त्यसउपर छानबिन माग गरेका थिए। अध्यक्ष लिङ्देनले हिन्दु राष्ट्र र राजसंस्थामाथि पार्टीको नकारात्मक छवि बन्ने गरी कुनै पनि बहस, छलफल र निर्णय नलिने भएका हुन्।

‘राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा पार्टीको छ, त्यसमाथि नकारात्मक छवि बन्ने गरी कुनै पनि बहस, छलफल र निर्णय नलिने उहाँले भनिसक्नुभएको छ,’ लिङ्देननिकट नेता मोहन श्रेष्ठले भने, ‘जुन विषयवस्तुमाथि छानबिनको कुरा आएको छ, मलाई लाग्छ कुनै छलफल र निर्णय हुँदैन।’ महाधिवेशनमा पराजित भएपछि थापाले निर्मल निवासले हस्तक्षेप गरी आफूलाई हराएको आरोप लगाएका थिए। राप्रपा महाधिवेशनपछि लिङ्देनले पहिलो बैठक मंसिर २२ गते पार्टी कार्यालय धुम्बाराहीमा बोलाएका थिए।

त्यही बैठकमा लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्रमाथि नकारात्मक छवि बन्ने गरी छलफल, बहस र निर्णय नहुने बताएका थिए।
तर, त्यो बैठकमा थापा गएनन्। उनी अहिलेसम्म पनि पार्टी कार्यालय गएका छैनन्। उनले २७ गते लिङ्देनलाई बधाई दिँदै महाधिवेशनमा निर्मल निवास, पूर्वराजा ज्ञानेन्द्र शाहका सचिव प्रयोग भएको प्रमाण आफूसँग रहेको भन्दै छानबिन माग गरेका थिए।

थापाको माग सुनुवाइ गर्ने/नगर्ने विषय त्यसपछि हराएको छ। त्यसपछि राप्रपाको केन्द्रीय समिति बैठक बसेको छैन। यता थापा पक्ष भने त्यो माग पत्रबारे छानबिन हुनुपर्ने पक्षमा छ। केही दिनअघि भएको पदाधिकारी बैठकमा अध्यक्ष लिङ्देनले नै माग पत्र आएको छ भनी कुरा निकालेका थिए। ‘त्यो बैठकमा कुरा निस्किए पनि खासै छलफल हुन सकेन,’ थापानिकट उपाध्यक्ष ध्रुवबहादुर प्रधानले भने, ‘अहिले हामी बाहिर छौं, छलफल नै नहुने भन्ने हुँदैन।’

थापाको मागमा के कति सम्बोधन गर्न सकिन्छ सकिँदैन भनेर अध्यक्षले टुंग्याइदिनुपर्ने बताए। थापा पक्षकै केन्द्रीय सदस्य राजाराम बर्तौलाले लिङ्देन पक्ष माग पत्रबारे छलफल नगर्न खोजिरहेको बताए। तर, छलफल र छानबिन समिति गठन नगरे त्यो प्रत्युत्पादक हुने बताए।

‘छलफल नगरे त्यसले परिस्थिति अप्रिय अवस्थातिर लैजान्छ। यो हाम्रो चाहनाको विषय होइन, नेतृत्वले गम्भीरतापूर्वक लिनुपर्छ,’ उनले भने, ‘त्यसले निर्मल निवासलाई पनि फाइदा गर्छ। छानबिनले सबैको हित गर्छ।’

लामो समयदेखि नेतृत्वमा रहेका थापा पराजित भएसँगै निर्मल निवासमाथि खनिरहेका छन्। महाधिवेशनमा थापा पराजित भए पनि पदाधिकारीमा अधिकांश उनी पक्षकै नेताहरू विजयी भएका थिए।

राप्रपा राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा बोकेर राजनीति गरिरहेको छ। तीन टुक्रामा विभाजित राप्रपा पछिल्लोपटक एक भएर महाधिवेशनमा गएको थियो। त्यसरी एकता महाधिवेशनमा जाँदा तीन वटै राप्रपाको नेतृत्व गरेका नेताहरूले गीतामा हात राखेर पार्टी नफुटाउने कसम खाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *