शो बाँडफाँटमा अन्याय गरेको भन्दै फिल्म ‘राधा’को प्रदर्शन रोक्ने निर्णय

काठमाडौं । हलले शो बाँडफाँटमा विभेद र अन्याय गरेको भन्दै फिल्म ‘राधा’ले प्रदर्शन रोक्ने निर्णय गरेको छ । ललितपुरमा मंगलबार आकस्मिक पत्रकार सम्मेलन गर्दै फिल्म निर्माताले प्रदर्शनबाट पछि हटेको जानकारी दिए ।

‘हामीलाई सुरुदेखि नै शो बाँडफाँटमा विभेद गरियो । दिइएको शो पनि दर्शकको लागि अनुकूल रहेनन् । सोही कारण फिल्मको प्रदर्शन रोक्ने निर्णय गरेका छौं,’ निर्मात्री देवकी विष्टले भनिन्, ‘प्रदर्शन रोक्ने जानकारी हल र वितरक दुवैलाई दिएका छौं ।’

तीजमा हलले शो बढाइदिने आशा आफूहरुले राखे पनि त्यसो नगरेर शो घटाइदिएको आरोप पनि उनले लगाइन् । ‘तीजको दिनमा शो बढ्ला कि भन्ने आशा थियो, त्यो पनि भएन । त्यसपछि रोक्ने निर्णय गरेका हौं,’ उनले भनिन्, ‘बोल्नेहरुको शो बढाइएको छ, नबोल्नेको बढेन । हलहरुले गरेको विभेद हामीलाई स्वीकार्य छैन ।’

आफूहरुले प्रिमियरमा उपस्थित भएर प्रतिस्पर्धी फिल्म ‘प्रकाश’लाई सहयोग गरेजसरी सहयोग नपाइएको गुनासो पनि उनले गरिन् । ‘हामी उहाँहरुको प्रिमियरमा पुगेर प्रचारमा सघाएका थियौं, तर निम्तो दिंदा पनि उहाँहरु प्रिमियरमा आउनुभएन,’ विष्टले भनिन् ।

सुवर्ण थापा निर्देशित फिल्म राधाले क्रिटिक्सबाट राम्रो समीक्षा पाए पनि अपेक्षित शो पाउन सकेको छैन । सौगात मल्ल र सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहेको यो फिल्मले हराएका पतिको खोजी गर्न एकल आमाले गरेको संघर्षको कथा पेश गर्छ ।

रिलिजको केही दिनमा ‘प्रकाश’ले पनि शोजमा विभेद गरिएको भन्दै आकस्मिक पत्रकार सम्मेलन गरेको थियो । त्यसलगत्तै क्यूएफएक्स लगायतका हलले शोमा दोब्बर वृद्धि गरेका थिए । अभिनेता प्रदीप खड्का त आक्रामक भएका थिए । तर आफू निर्माता रहेको फिल्म राधालाई लिएर अभिनेता समेत रहेका सौगात मल्ल चाहिं मौन र शान्त देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *