बालेनलाई पछ्याउँदै पोखराका मेयर

पोखरा । बालेन साह र हर्क सम्पाङसँग जोडेर प्रश्न गर्न थालेपछि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले २७ असारमा भनेका थिए, ‘धरान र काठमाडौंलाई लिएर कतिपय सन्दर्भमा युट्युब लगायतमा धेरै स्क्यान्डल गर्ने गरेको पनि देखिन्छ, यसमा मलाई तुलना नगरिदिनुहुन आग्रह गर्छु ।’

त्यसबेला मेयर आचार्यले आफूलाई जोसँग नदाँज्न आग्रह गरेको थिए, अहिले उनले तीनै काठमाडौं महानगरपालिकाका मेयर बालेनलाई पछ्याइरहेको देखिएको छ । पोखरा महानगरको पछिल्ला गतिविधिले त्यही देखाउँछ ।

काठमाडौं महानगरको पहिलो कार्यपालिका बैठकले निजी शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न आह्वान गर्‍यो । मेयर बालेनको आह्वानको प्रभाव देशभर पर्‍यो, विभिन्न सहरका रेष्टुरेष्ट तथा केही निजी कार्यालयले स्वतःस्फूर्त आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि खुला गरेको घोषणा गरे ।

पोखरा महानगरले पनि होटल, रेस्टुरेन्ट तथा संघसंस्थाका निजी शौचालय सार्वजनिक रुपमा सञ्चालनमा ल्याउन सम्झौता गर्न थालेको छ । बुधबारसम्म ३२ वटा होटल, रेस्टुरेन्ट तथा संघसंस्थासँग सम्झौता भइसकेको छ भने एक वर्षभित्र कम्तिमा १०० निजी संघसंस्थालाई सार्वजनिक रुपमा सञ्चालनमा ल्याउन सम्झौता गरिने मेयर आचार्यले जानकारी दिए ।

काठमाडौंका मेयर बालेनले प्रयोजन तथा मापदण्ड विपरीतका संरचना हटाउन अभियान चलाएका छन् । अवैध संरचना हटाउन दिएको ३५ दिने म्याद गुज्रिएपछि मेयर बालेन आफैं डोजर लिएर अवैध संरचना हटाउन पुगे । पोखराका मेयर पनि दबावमा परे । पोखरा महानगरले पनि १३ भदौमा सार्वजनिक सूचना जारी गर्दै प्रयोजन विपरीत भूमिगत तलाका अनधिकृत संरचना हटाउन व्यवसायीलाई निर्देशन दिएको छ ।

ट्राफिक व्यवस्थापन, मापदण्ड विपरीतका संरचना, फोहोर मैला व्यवस्थापन, लगायत समस्या काठमाडौं र पोखरामा समान छन् । यस्ता समस्या समाधान गर्न काठमाडौंका मेयर बालेन अघिअघि, पोखराका मेयर आचार्य पछिपछि देखिएका छन् ।

पोखराका नागरिक अगुवा रामबहादुर पौडेल महानगरको काम चर्चाका लागि मात्र नहोस् भन्छन् । ‘राम्रो कामका लागि राम्रै भन्नुपर्छ, यसलाई सकारात्मक रुपमै लिनुपर्छ’ उनले भने, ‘निर्णय गरेर ब्याक हुनुभयो भने पोखरा कसैले बनाउन सक्दैन ।’

उनी २०६८ सालमा पोखरामा अनधिकृत संरचनामा डोजर चलाएको सम्झन्छन् । ‘तत्कालीन अवस्थामा पोखरामा डोजर चलाएकै कारण यहाँका गौंडा, सडकपेटीका बाधा अड्चन हट्यो । विरोध त्यतिबेला पनि भएको थियो,’ उनले भने, ‘यसमा धेरै प्रश्न आउँछन्, गुनासो आउँछन् । त्यो सुन्न हामी तयार हुनुपर्छ ।’

कसैलाई पछ्याएको होइन : मेयर आचार्य

पोखराका मेयर आचार्यले भने कसैलाई पछ्याएको नभई नियमित प्रक्रियाबाट काम गरिरहेको बताएका छन् । अघिल्ला जनप्रतिनिधिहरुले गरेका निर्णयहरु कार्यान्वयन गर्न लागेको भन्दै उनले भने, ‘यो कसैलाई पछ्याएको होइन, रेगुलर काम हो ।’

कार्यपालिकाको दोस्रो बैठकबाटै अन्डरग्राउन्डमा पार्किङ व्यवस्थापन गर्न सूचना जारी गर्ने निर्णय भन्दै पोखराका मेयर आचार्य भन्छन्, ‘यो काठमाडौं, पोखरा भन्ने कुरै होइन । वास्तवमा सकारात्मक प्रयास देशैभरि सबैले गर्नुपर्ने हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *