अपूर्वलाई तुरून्त छोड्न लगाऊ: गायक योगेश्वर अमात्य

गायक योगेश्वर अमात्यले प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिज सिंहलाई रिहा गर्न लगाउनू भन्दै अभियन्ताहरूलाई आग्रह गरेका छन्। उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेवा अभियन्ताहरूसँग छाड्न पहल गर्न आग्रह गरेका हुन्।

उनले नेवा समुदायका संघ संगठनहरूले चाहिने मुद्दामा ध्यान नदिई स-साना कुरामा अल्झेर बसेको बताएका छन्। ‘हाम्रो नेवाः संघ-संगठन पनि गज्जबको लाग्छ। चाहिने मुद्दामा ध्यान छैन। सानो तिनोमा अल्झेर के-के नै गरेको जस्तो। अपूर्वलाई तुरून्त छोड्न लगाऊ,’ उनले फेसबुकमा लेखेका छन्।

कमेडियन अपूर्वले नेवाको परम्परा शीर्षकमा गरेको स्ट्यान्डअप कमेडीको भिडिओ गत शुक्रबार युट्युबमा राखिएको थियो। सो भिडिओ कमेडी क्याफेको च्यानलबाट हालिएको थियो। तर अपूर्वले नेवा समुदायलाई लक्षित गरी भाषा, खाना तथा संस्कृतिमा प्रहार गरेको भन्दै अभियन्ताहरूले विरोध गरेका थिए।

विरोध भएपछि २४ घण्टा नबित्दै सो भिडिओ युट्युबबाट हटाइएको थियो। यसमा अपूर्वले माफी समेत मागेका छन्। तर अभियन्ताहरूले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएपछि गत आइतबार उनी पक्राउ परेका हुन्।

उनलाई १० दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति समेत दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *